सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा जिल्लाको औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार शुक्रबार बिहान करिब १ः३५ बजे नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा ६ बोरामा राखिएको गाँजा बरामद भएको थियो। बरामद गाँजाको कुल तौल ११० किलो ७६० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। प्रहरीका अनुसार उनीहरूले गाँजा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद गाँजासहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved