उदयपुर, भदौ । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) विश्वबाबु बुढाथोकीलाई २०८३ साल भदौ महिनाका लागि ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषणा गरेको छ। इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा कार्यरत बुढाथोकीले संगठनले निर्दिष्ट गरेका नीति, निर्देशन तथा मूल्य–मान्यताअनुसार जिम्मेवारी निर्वाह गरेको आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। कार्यालयका अनुसार बुढाथोकीले कटारी क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथामका लागि सक्रिय रूपमा काम गर्नुका साथै विभिन्न घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा कानुनी प्रक्रियामा सहयोग पुर्याएका छन्। त्यसैगरी, स्थानीय तह तथा समुदायसँग समन्वय गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन तथा सुरक्षा सचेतना अभिवृद्धिमा समेत उनले भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कार्यालयका अनुसार प्रशासनिक तथा सुरक्षा व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा समेत कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा बुढाथोकीलाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले बुढाथोकीलाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनसहित प्रमाणपत्र प्रदान गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved