सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारबाट चोहर्वातर्फ आउँदै गरेको मिनी हायस अनियन्त्रित भई सडकमा पल्टिँदा खलासी गम्भीर घाइते भएका छन्। शुक्रबार मधेस प्रदेश ०४–००१ ज ०३०७ नम्बरको मिनी हायस मैनाबती पुलनजिकै सडकको बीचमै पल्टिएको हो। दुर्घटनामा हायसमा रहेका विष्णुपुर गाउँपालिका–२ का करिब २८ वर्षीय दायाराम यादव गाडीले च्यापिँदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते यादवलाई तत्काल उपचारका लागि चोहर्वास्थित अनुराधा पोलिक्लिनिक लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। हाल यादवको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक जानकारीअनुसार हायस तीव्र गतिमा रहेका बेला अनियन्त्रित भएर पल्टिएको बताइएको छ। स्थानीय तथा पीडित पक्षले चालकले मादक पदार्थ सेवन गरेको आरोपसमेत लगाएका छन्। प्रहरीले चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको जनाएको छ। घटनापछि चालकलाई गाडीधनीले फरार गराएको पीडित पक्षको आरोप छ। दुर्घटनामा घाइते यादवको उपचारका लागि गाडीधनीबाट अपेक्षित सहयोग नपाएको भन्दै पीडित परिवारले उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved