धनुषाको भठियनमा विङ्गरको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा शहिदनगर नगरपालिका–१, कुमकरन निवासी सरोज यादव रहेका छन्।
सोमबार बिहान आफ्ना छोराछोरीलाई विद्यालय छोड्न भठियनस्थित एक निजी विद्यालय पुगेका यादवलाई विङ्गरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। प्रत्यक्षदर्शीका अनुसार विङ्गरले उनलाई ठक्कर दिँदै केही दूरीसम्म घिसारेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृतक यादव सोही भठियनस्थित एक बोर्डिङ स्कूलमा स्टाफको रूपमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय सबैलाका अनुसार मधेस प्रदेश ०२-००१ ज ०१०४ नम्बरको विङ्गरका चालकसँग वैध लाइसेन्ससमेत नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालकसँग सम्बन्धित अन्य कागजातबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय तथा मृतकका आफन्तहरूले घटनापछि पनि प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको भन्दै लापरवाही भएको आरोप लगाएका छन्।
मृतक यादवका दुई छोरा र एक छोरी रहेका छन्। परिवार अहिले शोकमा डुबेको छ भने घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved