तेहरान । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ । गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ । यसैबिच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ । उता, कतारले आक्रमणको प्रतिक्रियास्वरूप केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ ।द्वन्द्वको तनाव थप चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । ट्रम्पले इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरे पनि अमेरिकालाई त्यसबारे जानकारी नभएको दाबी गरेका छन् । यता, इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा थप आक्रमण भए खाडी क्षेत्रका तेल र ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएको छ ।
युद्धका क्रममा इजरायलले वरिष्ठ इरानी अधिकारीहरूलाई लक्षित आक्रमण जारी राख्ने जनाएको छ । इरानी गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या भएको दाबी गर्दै इजरायली सेनाले यस्तो अभियान नरोकिने स्पष्ट पारेको छ । यसै सन्दर्भमा इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आक्रमणमा संलग्न पक्षले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
यसबिच, साउदी राजधानी रियादमा फेरि विस्फोट सुनिएको छ भने रक्षा मन्त्रालयले ग्यास प्लान्टतर्फ गइरहेको ड्रोन नष्ट गरिएको जनाएको छ । युद्धकै प्रभावस्वरूप अमेरिकी फेडरल रिजर्भले आर्थिक अनिश्चितता बढेको उल्लेख गर्दै मुद्रास्फीतिको अनुमान बढाएको छ र ब्याजदर यथावत राखेको छ, जसले द्वन्द्वको विश्व अर्थतन्त्रमा पर्ने प्रभाव थप प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved