सिरहाको विभिन्न स्थानमा आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जनचेतनामूलक र्याली तथा कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। “प्रविधिको सही उपयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मनाइने यो अभियानलाई सिरहाका स्थानीय तहहरूले संयुक्त रूपमा प्रभावकारी ढंगले अघि बढाइरहेका छन्। ती स्थानीय तहहरू मध्ये कर्जनहा नगरपालिका सक्रियता, नेतृत्व र समन्वयमा विशेष पहिचान बनाउन सफल देखिएको छ। कर्जनहा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ यादवको नेतृत्वमा आज नगरभरि चेतनामूलक गतिविधिहरू उत्साहपूर्ण रूपमा सञ्चालन गरियो, जसले नगरवासीमा सकारात्मक ऊर्जा र सतर्कताको भावना फैलाएको छ। उपमेयर यादव सिरहा जिल्लाकै गतिशील, कार्यकुशल र सक्षम उपप्रमुखको रूपमा परिचित छिन्। जसपा नेपालको सिराहा जिल्ला कार्यकारिणी समितिकी कोषाध्यक्ष समेत रहेकी यिनी राजनीतिक रूपमा परिपक्व मात्र होइनन्, व्यवहारिकता, शालीनता र सभ्य आचरणका कारण जिल्लाभर लोकप्रिय मानिन्छन्। आफ्नो जिम्मेवारीमा अत्यन्तै सजग, संवेदनशील र सक्रिय रहेकी उहाँको कार्यसम्पादनले नगरवासीदेखि जिल्लाबासीसम्म सबै उत्साहित र प्रेरित हुने गरेको छ। नम्रता, सहकार्यमा विश्वास र समस्यामुखी काम गर्ने शैलीले उपमेयर यादव कर्जनहा नगरपालिकामा मात्र होइन, सिरहा जिल्लामा समेत जनअभिमुख नेतृका रूपमा स्थापित भएकी छिन्। आजको कार्यक्रमअन्तर्गत नगरपालिकाले विद्यालय, महिला समूह, समुदाय, स्थानीय संघ–संस्था तथा विभिन्न तहका नागरिकलाई सहभागी गराउँदै र्याली, अन्तरक्रिया तथा सचेतना सन्देशसहितका गतिविधि सम्पन्न गर्यो। प्रविधिको दुरुपयोगबाट सिर्जित साइबर हिंसा, दुष्प्रचार, बदनियतपूर्ण दुर्ववहार अन्य दुरुपयोगजस्ता आधुनिक लैंगिक अपराधहरूको रोकथामका लागि डिजिटल साक्षरता अनिवार्य भएको उपमेयर यादवले कार्यक्रमलाई सम्बोधन गर्दै बताइन्। सुरक्षित समाज निर्माणका लागि प्रविधिको सदुपयोग, कानुनी जानकारी र समुदायको सक्रिय साझेदारीको आवश्यकता औंल्याउँदै उनले महिलाको सुरक्षा, सम्मान र समान अधिकार सुनिश्चित गर्न कर्जनहालाई ‘हिंसामुक्त नगरपालिका’ बनाउन निरन्तर काम गरिरहेको स्पष्ट पारिन्। मेयर भोला पोख्रेलले पनि लैंगिक हिंसा कुनै एक समुदायको मात्र समस्या नभई सामाजिक, आर्थिक र सांस्कृतिक संरचनासँग गाँसिएको जटिल विषय भएकाले सबै पक्षको एकजुट प्रयास अपरिहार्य रहेको बताए। शिक्षा, आर्थिक सबलीकरण, न्यायिक पहुँच र समुदायस्तरीय सचेतना कार्यक्रमलाई नगरपालिका निरन्तरता दिने बताउँदै उनले उपमेयर यादवको सक्रियता र समर्पणले कर्जनहालाई अन्य स्थानीय तहका लागि उदाहरण बनाइरहेको उल्लेख गरे। अभियानमा सहभागी नगरवासीले नाराबाजीसहित हिंसाविरुद्ध ऐक्यबद्धता जनाउँदै लैंगिक हिंसाको कुनै पनि रूप सहन नहुने चेतना फैलाएका थिए। महिलामाथि हुने घरेलु हिंसा, सामाजिक बहिष्कार, साइबर अपराध, सार्वजनिक अमर्यादित व्यवहारदेखि बालविवाहजस्ता समस्याको अन्त्यका लागि स्थानीय तह संयुक्त रूपमा क्रियाशील रहनुपर्ने सन्देश अभियानले दिएको छ। कर्जनहामा उपमेयर लक्ष्मी श्रेष्ठ यादवको नेतृत्वमा देखिएको सशक्त उपस्थिति र उदार, नम्र तथा व्यवहारिक कार्यशैलीले सिरहाको अन्य स्थानीय तहका प्रतिनिधिलाई पनि सक्रिय, उत्तरदायी र नागरिकमुखी नेतृत्वप्रति प्रेरित बनाएको छ। १६ दिने अभियानका आजका गतिविधिले कर्जनहा नगरपालिकामा मात्र होइन, सम्पूर्ण सिरहामा लैंगिक हिंसामुक्त समाज निर्माणको मार्गमा नयाँ ऊर्जा, प्रतिबद्धता र साझा आवाज उठाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved