बिष्णुपुर गाउँपालिकाको ११औँ गाउँसभा दोस्रो बैठक दलिय तानातानबीच सम्पन्न

  • असोज २८, २०८२
  • ४८२ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहाको बिष्णुपुर गाउँपालिकाको ११औँ गाउँसभाको दोस्रो बैठक लामो समयदेखि देखिएको राजनीतिक द्वन्द्व र अवरोधबीच आइतबार पालिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको छ। गत असार महिनादेखि दलिय बन्धकमा परेको गाउँसभा अन्ततः बहुमतको आधारमा सम्पन्न गरिएको हो। बैठकले पालिकाको आगामी आर्थिक वर्षका नीति–कार्यक्रम, तलब–भत्ता, भुक्तानी, पुनर्निर्माण तथा विभिन्न विकास योजनाहरूको स्वीकृति जस्ता विषयमा छलफल गर्दै निर्णयहरू गरेको छ। बिष्णुपुर गाउँपालिका सिरहा जिल्लाको एक सक्रिय स्थानीय तह हो, जहाँ हाल स्थानीय सरकार सञ्चालनमा तीन प्रमुख राजनीतिक दलहरूको प्रत्यक्ष संलग्नता रहेको छ — नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)। यस पालिकाको दोस्रो कार्यकालको निर्वाचनमा नेपाली कांग्रेसले ३ वडा, जसपाले २ वडा अध्यक्ष र एक उपाध्यक्ष, भने नेकपा (एमाले)ले प्रमुख (मेयर) पद जितेको थियो। जम्मा ५ वटा वडाहरू रहेका यस पालिकामा राजनीतिक सन्तुलन कायम गर्नुपर्ने चुनौती प्रारम्भदेखि नै देखिँदै आएको छ। पालिकाको बोर्डमा नेकपाले पूर्णता नपाएपछि सहमति प्रणालीमार्फत एमाले र कांग्रेसले बहुमतको आधारमा स्थानीय सरकार सञ्चालन गर्दै आएका छन्। जसपा, प्रारम्भदेखि नै, कहिले सत्ता साझेदारीमा त कहिले प्रतिपक्षको भूमिकामा रहँदै आएको छ। यही राजनीतिक अस्थिरताले बिगत असारदेखि गाउँसभा सञ्चालनमा अवरोध उत्पन्न गरेको थियो। आइतबारको गाउँसभाका लागि कार्यपालिकाका सबै सदस्यहरूलाई पालिकाले पत्राचार गरेको थियो। तर जसपा समर्थित उपाध्यक्ष गीता कुमारी सिंहसहित जसपा वडाध्यक्षहरूले सभामा उपस्थिति जनाएनन्। उनीहरूको अनुपस्थितिले बैठकमा पुनः दलिय असमझदारी र व्यक्तिगत स्वार्थको प्रभाव देखिएको टिप्पणी स्थानीयहरूले गरेका छन्। पत्रकारहरूले सभामा उपाध्यक्ष र जसपा प्रतिनिधिहरूको अनुपस्थितिबारे सोध्दा पालिका अध्यक्ष सत्यनारायण यादवले स्पष्ट जवाफ दिएका थिए। अध्यक्ष यादवका अनुसार, “जनताको विकास र सेवा भन्दा पनि व्यक्तिगत स्वार्थमा अल्झिएका केही प्रतिनिधिहरूले पालिकाको काममा अवरोध पुर्‍याइरहेका छन्। जेन–जेड आन्दोलनको क्रममा जलाइएको पालिकाको कार्यालय पुनर्निर्माणका लागि बजेट नराखिएको भन्ने बाहाना बनाएर उपाध्यक्ष सिंह र जसपा प्रतिनिधिहरूले जानाजान सभा बहिष्कार गरेका हुन्।” अध्यक्ष यादवले थपे, “दशैं–तिहार जस्ता महत्वपूर्ण पर्व नजिकिँदै गर्दा पालिकाका कर्मचारीहरूको तलब–भत्ता, गत आर्थिक वर्षमा विभिन्न संघ–संस्था र व्यक्तिहरूलाई दिन बाँकी भुक्तानी र सार्वजनिक सेवासँग सम्बन्धित अन्य आवश्यक खर्च तत्काल स्वीकृत गर्नुपर्ने आवश्यकता थियो। यसै कारण हामीले बहुमतको आधारमा गाउँसभा सम्पन्न गर्न बाध्य भयौं। उपाध्यक्षको भूमिका महत्वपूर्ण भए पनि व्यक्तिगत असहमतिको कारण जनतामुखी कार्यक्रमलाई रोक्नु गैरजिम्मेवार व्यवहार हो।” बैठकमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, प्रहरी प्रशासन, अनुसन्धान निकायका प्रतिनिधि र जेन–जेड आन्दोलनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सभामा सहभागी पत्रकारहरूले समेत राजनीतिक दलहरूबीचको तानातानका कारण विकास कार्यमा ढिलाइ भइरहेको भन्दै पालिकालाई सहकार्य र पारदर्शिताको आग्रह गरेका थिए। यता जसपा समर्थित उपाध्यक्ष गीता कुमारी सिंहले भने आफूसँग नजिक रहेका केही व्यक्तिहरूमार्फत प्रतिक्रियामा भनिन्, “पालिका अध्यक्षले जेन–जेड आन्दोलनको क्रममा जलेको भवन पुनर्निर्माणका लागि बजेट राख्ने सहमति गरे पनि पछि कार्यसूचीबाट हटाए। गाउँसभाको उद्देश्य पारदर्शिता होइन, आफ्नो गुटको स्वार्थ थियो, त्यसैले हामी अनुपस्थित रह्यौं।” उनको यो भनाइले पालिकाको आन्तरिक सम्बन्ध अझ तनावपूर्ण बनेको बताइन्छ। जसपा प्रतिनिधिहरूको भनाइअनुसार, प्रमुखले विपक्षी धारका प्रतिनिधिहरूको सुझान्ननु्यवलाई बेवास्ता गर्दै कार्यक्रम अघि बढाउने गरेको र कार्यपालिका बैठकहरूमा पनि मतभेद बढ्दै गएको छ।त्युन्न्नु तर अर्कोतर्फ, एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले भने जसपाको आरोपलाई अस्वीकार गर्दै गाउँपालिकाको काम जनताका आवश्यकतामा केन्द्रित रहेको बताए। वडा नं. ४,र ५ का अध्यक्षले भने, “जसपा प्रतिनिधिहरू बैठकमा आएर सुझाव दिन्थे भने अझ राम्रो हुने थियो। तर उनीहरू अनुपस्थित रहँदा पनि पालिकाको काम रोकिने होइन। जनताको हितका लागि हामी अघि बढेका छौं।” बैठकमा पालिकाले आर्थिक विवरण र आगामी कार्यक्रमहरूबारे पनि प्रस्तुत गरेको थियो। गाउँसभामा प्रस्तुत प्रतिवेदन अनुसार, बिष्णुपुर गाउँपालिकामा गत आर्थिक वर्षमा करिब ८० प्रतिशत विकास योजना सम्पन्न भएका छन् भने बाँकी २० प्रतिशत योजना विभिन्न कारणले अधूरा रहेका छन्। जसमा प्राकृतिक प्रकोप, ठेकेदारको लापरवाही र बजेट स्वीकृतिमा ढिलाइ प्रमुख कारण रहेका छन्। पालिका प्रमुखले भने, “अब हामीले असहजतालाई पन्छाउँदै आगामी वर्षमा प्रत्येक वडा र बस्तीमा आवश्यक योजनाहरू प्राथमिकताका आधारमा अघि बढाउनेछौं। यसका लागि सबै दलहरू, समुदाय र नागरिकबीच सहकार्यको वातावरण जरुरी छ।” बैठकमा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक र रोजगारीजस्ता विषयमा प्राथमिकताका कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव दिएका थिए। साथै, जेन–जेड आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय भवन, शौचालय र सरसफाइ पूर्वाधार पुनर्निर्माणका लागि विशेष बजेट छुट्याउनुपर्ने प्रस्ताव पनि आएको थियो। यसैबीच, गाउँसभा स्थलमा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले पालिकासँग युवा सहभागिता, सीपमूलक तालिम र पारदर्शी नीति निर्माणमा जोड दिएका थिए। गाउँपालिकाका प्रवक्ता अनुसार, आगामी वर्षमा युवामुखी कार्यक्रम र महिला सशक्तिकरणका योजनामा पनि विशेष प्राथमिकता दिइनेछ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले भने, “बिष्णुपुरलाई राजनीतिक विभाजन होइन, विकासको साझेदार बनाउने हाम्रो लक्ष्य हो। जसपाका साथीहरू पनि जनताको सेवामा एकै ठाउँमा आउँछन् भन्ने आशा राखेका छौं।” यसरी, लामो समयपछि सम्पन्न भएको बिष्णुपुर गाउँपालिकाको ११औँ गाउँसभा दोस्रो बैठकले दलिय तानातान, असहमति र व्यक्तिगत स्वार्थबीच पनि स्थानीय सरकार सञ्चालनका निर्णयहरू अघि बढाएको छ। अब पालिकाले यी निर्णयलाई कार्यान्वयन गर्दै जनताको विकास र सेवामा के कति प्रभाव पार्छ भन्ने कुरा समयले नै देखाउनेछ। बैठकले स्थानीय राजनीतिक सम्बन्धमा केही तनाव देखाए पनि, प्रशासनिक रूपमा भने पालिका अब नियमित गतिमा फर्किने संकेत गरेको छ। उपस्थित सरोकारवालाहरू, प्रहरी, पत्रकार र जेन–जेड प्रतिनिधिहरूले गाउँसभालाई जनतामुखी बनाउने प्रतिबद्धता जाहेर गर्दै बैठक सफल भएको बताएका छन्। यसरी, असारदेखि रोकिएको गाउँसभा अन्ततः बहुमतको आधारमा सम्पन्न भई बिष्णुपुर गाउँपालिकाले पुनः स्थानीय शासन सञ्चालनको बाटो खोलेको छ। पालिकाभित्रका राजनीतिक मतभेद समाधान भई सबै दलहरू विकास र पारदर्शी शासनका लागि एकसाथ अघि बढ्ने अपेक्षा नागरिकहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

अधिकृत संजिप कुमार द ...

 सरुवा आदेश हुँदाहुँदै पनि गृह कार्यालयमै अटेरी, शाखा अधिकृत संजिप कुमार दुवेमाथि गम्भीर आरोप स ...

प्रधानमन्त्री कार् ...

 प्रधानमन्त्री कार्कीले हालै दिएको अभिव्यक्ति—जसमा उनले केही मुस्लिम देशहरूमा महिलालाई जि ...

कमिसन बिना टेन्डर ह ...

 रौतहट, ११ मंसिर । रौतहटको फतुवा–बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरू म्याद नवीकरण ...