?शिक्षक अभावका कारण विद्यार्थी आन्दोलित, श्री जनता माध्यमिक विद्यालय ब्रहमपुरीमा तालाबन्दी सिरहा जिल्लाको अनर्मा गाउँपालिका–स्थित श्री जनता माध्यमिक विद्यालय ब्रहमपुरीमा शिक्षक अभावका कारण विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन् । विद्यालयमा विशेषगरी प्राविधिक धारतर्फका शिक्षकहरू लामो समयदेखि अभाव रहेका कारण विद्यार्थीहरूको पढाइमा गम्भीर असर परेको भन्दै उनीहरूले बिहीबारदेखि कक्षा बहिष्कार गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरूले विद्यालय प्रशासनप्रति असन्तुष्टि जनाउँदै आफ्ना माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीहरूको भनाइअनुसार विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन भइरहे पनि सम्बन्धित विषयका दक्ष शिक्षक नहुँदा पढाइ केवल औपचारिकतामा सीमित भएको छ । उनीहरूले वर्षौंदेखि शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा पाउन नसकेको र विद्यालय प्रशासनले यसबारे उच्च निकायमा ध्यान नपुर्याएको आरोप लगाएका छन् । आक्रोशित विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक अनिल कुमार साहलाई स्टाफरुमभित्रै थुनेर आन्दोलन जारी राखेका छन् । उनीहरूको भनाइअनुसार विद्यालय प्रशासनले पटक–पटक वाचा गरे पनि व्यवहारिक कार्यान्वयन नभएकाले यो कठोर कदम चाल्न बाध्य भएका हुन् । विद्यार्थीहरू बिहानदेखि विद्यालय परिसरमा नाराबाजी गर्दै “हाम्रो पढाइ खोइ?”, “शिक्षक देऊ, शिक्षा देऊ” जस्ता नारासहित विरोध प्रदर्शनमा उत्रिएका छन् । विद्यालय प्रशासनले भने शिक्षक अभावको समस्या जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पटक–पटक पत्राचार गरेर जानकारी गराइए पनि हालसम्म स्थायी समाधान नआएको बताएको छ । प्रधानाध्यापक अनिल कुमार साहका अनुसार विद्यालयमा प्राविधिक धारका लागि आवश्यक शिक्षक नआएपछि शिक्षण कार्य प्रभावित हुनु स्वाभाविक हो र विद्यालयले यो विषय सम्बन्धित निकायमा निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । उनले विद्यार्थीहरूको माग जायज भए पनि आन्दोलनका नाममा तालाबन्दी र स्टाफरुममै बन्धक बनाउने कार्य गलत रहेको बताए । यसबीच, अभिभावकहरूले पनि विद्यालय प्रशासन र स्थानीय सरकारबीच सहकार्य गरी चाँडो समाधान खोज्न आग्रह गरेका छन् । उनीहरूका अनुसार शिक्षाको अधिकार विद्यार्थीहरूको मौलिक अधिकार हो, त्यसैले शिक्षक अभावका कारण उनीहरूको भविष्य अन्योलमा पर्नु दुःखद छ । विद्यालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूको संख्यामा पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भए पनि शिक्षक अभाव र आवश्यक उपकरण नहुँदा कक्षा सञ्चालनमा समस्या आइरहेको स्थानीयहरूले बताएका छन् । विद्यालयमा अहिले करिब तीन सयभन्दा बढी विद्यार्थी प्राविधिक धारमा अध्ययनरत छन् तर विषयगत दक्ष शिक्षक अभावका कारण पढाइ प्रभावित भइरहेको छ । आन्दोलनका कारण विद्यालयको पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ । विद्यार्थीहरूले भने आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको र माग पूरा नभएसम्म जारी रहने बताएका छन् । स्थानीय शिक्षक संघ र विद्यार्थी अभिभावक संघले समेत समस्या समाधानका लागि छलफल सुरु गरेका छन् । यता, अनर्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुखले विद्यार्थीको जायज माग सम्बोधन गर्न पहल भइरहेको र सम्बन्धित निकायसँग शिक्षक पूर्तिका लागि पत्राचार गरिएको बताए । तर भन्ने विद्यालय प्रशासन, स्थानीय सरकार मौन बसिरहेकाव्छन ,आन्दोलित विद्यार्थीहरुले बताए । आन्दोलित विद्यार्थी र स्थानीयका अनुसार शिक्षक भर्नाको लागि बिज्ञापन गरेको महिनौं भयो तर उनिहरुले भर्नामा आर्थिक चलखेलमा लागेका छन र शिक्षक भर्ना नभैरहेको समेत आरोप लगाएका छन । उनिहरुले स्पष्ट रूपमा भनेका छन् — “हामी पढ्न चाहन्छौं, तर शिक्षक नहुँदा बाध्य भएर सडकमा उत्रिएका हौं।” शिक्षक अभावको समस्याले गाउँकै मात्र होइन, जिल्लाभरकै प्राविधिक धारका विद्यालयहरूमा पनि यस्तै अवस्था देखिएको छ, जसले सम्पूर्ण शिक्षण प्रणालीको सुधार आवश्यक भएको जनाउँछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved