मुखियापट्टि गापाको सामुदायिक विद्यालयमा अनियमितता: दिवाखाजा बजेटमा हिनामिना र शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप

  • फागुन १, २०८१
  • १३१८ पटक पढिएको
  • नरेश कुमार यादव
alt

 नरेश यादव / प्रदेश टाइम्स ,धनुषा, फाल्गुन १ – धनुषा जिल्लाको मुखियापट्टी गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा चरम अनियमितता देखिएको छ। दिवाखाजा बजेट दुरुपयोगदेखि शिक्षक नियुक्ति प्रक्रियासम्म अनियमितता गरिएको भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। विशेष गरी विद्यालयका प्रधानाध्यापकहरू हाजिर भएका विद्यार्थी संख्या भन्दा बढी देखाइ दिवाखाजाको रकम हिनामिना गरिरहेको खुलासा भएको छ। मुखियापट्टी गाउँपालिका–२ का वडा अध्यक्ष नरेश यादवका अनुसार गाउँपालिकाका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूको वास्तविक संख्यालाई तोडमोड गर्दै दिवाखाजाका लागि सरकारले विनियोजन गरेको बजेट दुरुपयोग गरिरहेका छन्। उनले भने, "विद्यालय प्रशासन र गाउँपालिका अध्यक्ष जयकुमार यादवको मिलोमतोमा बजेटको अनियमितता भइरहेको छ। विद्यार्थीहरू कम भए पनि कागजमा बढी देखाएर रकम निकासा गरी व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने प्रवृत्ति मौलाएको छ।" यस अतिरिक्त, शिक्षक नियुक्ति प्रक्रियामा समेत आर्थिक चलखेल भएको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार, गाउँपालिका अध्यक्ष यादवकै मिलोमतोमा शिक्षक विज्ञापनको नतिजामा वैकल्पिक सूचीमा परेका उम्मेदवारहरूसँग आर्थिक लेनदेन गरी नियुक्ति गरिएको छ। "नियम र कानुनी प्रक्रियालाई मिचेर आर्थिक चलखेल मार्फत शिक्षक नियुक्ति गरिएको छ, जसले शैक्षिक प्रणालीमै गम्भीर असर पुर्‍याइरहेको छ," वडा अध्यक्ष यादवले भने। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले यो अनियमितताको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको भ्रष्टाचार हुनु गम्भीर विषय भएको र यसले विद्यार्थीहरूको भविष्य अन्धकारमय बनाउने भन्दै उनीहरूले सरकार र सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि दबाब दिएका छन्। मुखियापट्टी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा देखिएको यस्ता बेथितिहरू तत्काल सुधार नगरे शिक्षा क्षेत्रमा थप जटिलता सिर्जना हुने भन्दै विज्ञहरू समेत चिन्तित देखिन्छन्। विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै शिक्षामा पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय प्रशासन, शिक्षा मन्त्रालय तथा सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...