प्रदेश टाइम्स / सिरहा– नेपाल पत्रकार महासंघ सिरहा शाखा र लहान सिटी जेसिसबीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ सिरहाले ३–२ को रोमाञ्चक जित हासिल गरेको छ। लहान सिटी जेसिसद्वारा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत शनिबार लहान खेल मैदानमा भएको यस खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जेसिस टोलीलाई पराजित गर्यो। पत्रकार महासंघका तर्फबाट विरेन्द्र यादव, एम. महतो र अनुभक्त चौधरीले एक-एक गोल गरे। जेसिस टोलीबाट नित्यानन्द यादव र बमचन्द्र चौधरीले एक-एक गोल गरेका थिए। खेलमा पत्रकार टोलीका कप्तान विरेन्द्र यादव र जेसिस टोलीका कप्तान उपेन्द्र यादव थिए। पत्रकार टोलीका कप्तान विरेन्द्र यादवले आफ्नो टोलीको जितमा खुसी व्यक्त गर्दै भने, "यस प्रकारका खेलले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। हाम्रो टोली विजयी भएकामा गर्व लागेको छ।" उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै लहान सिटी जेसिसका अध्यक्ष उमेश कुमार यादवले खेलकुदले दुई संस्थाबीचको मित्रतालाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे। नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले खेलले समाजमा सकारात्मक सन्देश फैलाएको उल्लेख गर्दै भने, "यसले पत्रकारहरूमा ऊर्जा थप्नुका साथै सामुदायिक एकता सुदृढ बनाएको छ।" मैत्रीपूर्ण यो खेलले केवल मनोरञ्जन प्रदान मात्र होइन समाजमा खेलकुदको महत्व र सकारात्मक सन्देश पनि प्रवाह गर्यो। समय-समयमा यस प्रकारका कार्यक्रमहरू आयोजना गर्नु आवश्यक छ भन्ने सुझाव सहभागीहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved