सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरीले एम्बुलेन्सबाट १०५ किलो ग्राम गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार चौहर्वातर्फबाट सिरहातर्फ आउँदै गरेको ज.१ च १२१३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरिएको गोप्य सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै सिरहा नगरपालिका–१ स्थित हुलाकी सडक खण्डमा रोकी जाँच गरेको थियो । जाँचका क्रममा एम्बुलेन्सभित्र लुकाएर राखिएको ५ वटा बोरामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ तौल गर्दा १०५ किलो ग्राम भएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले बरामद पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनापछि फरार रहेका एम्बुलेन्स चालकको खोजतलास तथा पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved