सिरहामा SaMi कार्यक्रमको प्रभावकारी सेवा : ७,५९३ सेवाग्राही लाभान्वित, ४ करोड ६० लाखभन्दा बढी क्षतिपूर्ति दिलाइयो

  • असार १९, २०८३
  • २१८ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत सिरहास्थित आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्र लहानले आर्थिक वर्ष २०८२/८३ को श्रावण १ गतेदेखि जेठ मसान्तसम्म उल्लेखनीय सेवा प्रवाह गरेको जनाएको छ। बुधबार सिरहा स्थित सामी परियोजना द्वारा गरिएको पत्रकार सम्मेलन मार्फत प्रमुख नथुनी मन्डलले जानकारी गराएका हुन । केन्द्रले सार्वजनिक गरेको प्रगति विवरणअनुसार उक्त अवधिमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श सेवा लिन कुल ७ हजार ५ सय ९३ जना सेवाग्राही केन्द्रमा पुगेका छन्। तीमध्ये ७ हजार २३ जना पुरुष र ५ सय ७० जना महिला रहेका छन्। यसले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सचेतना तथा सेवामा नागरिकको पहुँच निरन्तर बढ्दै गएको देखाएको छ। यस अवधिमा वैदेशिक रोजगारीका क्रममा ठगी, समस्या तथा अन्य विवादसम्बन्धी २१३ वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमध्ये १०२ वटा उजुरी सफलतापूर्वक समाधान गरिएको छ। समाधान भएका उजुरीबाट १०१ पुरुष र १ महिला गरी १०२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। उजुरी समाधानका माध्यमबाट पीडित सेवाग्राहीले कुल ४ करोड ६० लाख ६६ हजार ७ सय ४१ रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्। यसमध्ये पुरुष सेवाग्राहीले ४ करोड ६० लाख १६ हजार ७ सय ४१ रुपैयाँ तथा महिला सेवाग्राहीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। यस उपलब्धिले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकलाई न्याय दिलाउन SaMi कार्यक्रम प्रभावकारी बनेको पुष्टि गरेको छ। वैदेशिक रोजगारी विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ८ लाख ३९ हजार २ सय ६६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये मधेश प्रदेशबाट १ लाख ९३ हजार ९ सय ६४ जना तथा सिरहाबाट ३४ हजार ८ सय ३२ जना रहेका थिए। त्यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ७ लाख ७८ हजार ८ सय ८६ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये मधेश प्रदेशबाट १ लाख ७५ हजार ४० जना तथा सिरहा जिल्लाबाट १९ हजार ६ सय १४ जना वैदेशिक रोजगारीमा गएका छन्। आप्रवासी स्रोत केन्द्र सिरहा तथा उपकेन्द्र लहानले सूचना तथा परामर्श, उजुरी व्यवस्थापन, कानुनी सहजीकरण तथा क्षतिपूर्ति उपलब्ध गराउने कार्यमार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ। आगामी दिनमा स्थानीय तह, जिल्ला प्रशासन, वैदेशिक रोजगार विभाग तथा अन्य सरोकारवाला निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै सेवा विस्तार गरिने केन्द्रको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...