प्रधानमन्त्री कार्कीले हालै दिएको अभिव्यक्ति—जसमा उनले केही मुस्लिम देशहरूमा महिलालाई जिउँदै पुरिने, तान्ने, शिक्षा र स्वतन्त्रता नदिने जस्ता टिप्पणीहरू गरेका थिए। यश प्रति तीव्र आपत्ति जनाउँदै नेता महम्मद खालिद सिद्धिकीले उक्त अभिव्यक्तिलाई तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट कुनै पनि समुदाय, धर्म वा संस्कृतिलाई एकैठाँउमा राखेर दोषारोपण गर्ने शैली स्वीकार्य नभएको उल्लेख गर्दै यस्तो अभिव्यक्ति नेपालको बहुजातीय, बहुधार्मिक र सांस्कृतिक सद्भावपूर्ण समाजलाई कमजोर पार्ने चेतावनी दिएका छन् । सिद्धिकीका अनुसार प्रधानमन्त्रीका शब्दहरूले मुस्लिम समुदायको भावना मात्र आहत भएको छैन, राज्यको आधिकारिक तहबाट एकपक्षीय धारणा प्रकट हुँदा समाजमा विभाजन र अविश्वास बढ्ने खतरा समेत बढेको छ । उनले नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान र समानतामा आधारित राष्ट्र निर्माणको मार्ग देखाएको स्मरण गराउँदै, प्रधानमन्त्रीले मुस्लिम समुदायलाई नकारात्मक रूपमा चित्रण गरी संविधानको भावनाविपरीत काम गएको आरोप लगाए । नेता सिद्धिकीले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा खेद प्रकट गर्न, असन्तुष्ट समुदायसँग संवाद बढाउन र भविष्यमा यस प्रकारका पूर्वाग्रहपूर्ण र आधारहीन अभिव्यक्तिमाथि पूर्ण संयमता अपनाउन आग्रह गरे । उनका अनुसार विश्वका सबै धार्मिक, सांस्कृतिक र सामाजिक समूहमा सकारात्मक र नकारात्मक दुवै उदाहरणहरू पाइने भए पनि, कुनै एक समुदायलाई सामान्यीकरण गरी कठोर आरोप लगाइनु न त न्यायसंगत हुन्छ न त जिम्मेवार नेतृत्वको पहिचानसँग मेल खाँदछ । विहिवार सिरहाको रमौल स्थित नेपालका मुस्लिम धर्मगुरुहरुको संगठन जमियत उलमा ए नेपाल संस्था द्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तथा नेता मोहम्मद खालिद सिद्धकिले आफ्ना धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन, अतिरञ्जित र समुदायविशेषलाई विभेदपूर्ण ढंगले प्रस्तुत गर्ने प्रकारको छ, जसले अविश्वास मात्रै बढाउँछ, समाधान होइन बताए । सिद्धिकीले मुस्लिम समुदायले नेपालमा सदियौंदेखि शान्तिपूर्ण ढंगले सहअस्तित्व गर्दै आएको, राष्ट्रिय निर्माणमा योगदान पुर्याउँदै आएको र समान अधिकारका हकदार भएर बाँचिरहेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्रीको टिप्पणीले उनीहरूको पहिचान, अस्तित्व र सामाजिक सम्मानमा प्रत्यक्ष चोट गरेको बताएका छन् । उनले सरकारको जिम्मेवारी सबै समुदायलाई समेट्ने, सुन्ने र विश्वास दिलाउने हो भन्दै, यस्तो वक्तव्य सरकारले नै दूरी बढाउने तहमा पुगेको दुःखजनक संकेत भएको टिप्पणी गरे । नेता सिद्धिकीले प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित, असंगत र संवैधानिक मूल्यमान्यता विपरीत भएको पुनः दोहोर्याउँदै, तत्काल फिर्ता लिएर सहिष्णु, विवेकशील र जिम्मेवार नेतृत्वको पहिचान पुनर्स्थापना गर्न उनलाई आग्रह गरेका छन् । उनले धार्मिक र सांस्कृतिक विविधतामा आधारित राष्ट्रिय एकता नेपालको शक्ति भएको बताउँदै, यस्ता अभिव्यक्तिले देशको अन्तर्राष्ट्रिय छवि समेत कमजोर पार्ने जोखिम रहेको चिन्ता व्यक्त गरे । अन्त्यमा, सिद्धिकीले सबै समुदायप्रति समान सम्मान र संवेदनशीलता अपनाउन आग्रह गर्दै, प्रधानमन्त्रीले आफ्नो टिप्पणी सच्याए मात्र राष्ट्रिय सद्भाव र राजनीतिक नैतिकताप्रतिको सम्मान कायम हुने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved