प्रदेश टाइम्स / सिरहा । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ३, अमहा गढियामा खानेपानीको समस्या समाधानका लागि बोर्डिङ जडान कार्यक्रमको शिलान्यास गरिएको छ। शिलान्यास बोर्डिङ जडान गर्ने मेशिनको मोटरको डोरि तानेर गरेका हुन । विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यतामा तथा अमहा गढिया खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्ता समिति अध्यक्ष राम औतार सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष जयकुमार यादव , सदस्य जागेश्वर महतो लगायत स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, उपभोक्ता समिति सदस्य र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त बोर्डिङ जडान कार्यक्रमबाट वडा नम्बर ३ अमहा गढियाका करिब ७० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सबल नेपाल परियोजना विष्णुपुरका संयोजक मनिक कुमार कामतका अनुसार, खानेपानी बोर्डिङ जडानको कुल लागत ६६ लाख १३ हजार ६ सय ३४ रुपैया १७ पैसा रहेको छ। यसमा विष्णुपुर गाउँपालिकाको तर्फबाट २५ लाख ९७ हजार ३४ रुपैया ७७ पैसा तथा BMZ,VCA र WHH को संयुक्त सहयोगमा सबल नेपाल द्वारा सञ्चालित वाश परियोजना NPL-1082-22 अन्तर्गतको तर्फबाट ३६ लाख ४७ हजार ९ सय ७० रुपैया ६२ पैसा बजेटको साझेदारी रहेको छ भने बाँकी ३ लाख ६८ हजार ६ सय २८ रुपैया ७८ पैसा स्थानीय समुदायले श्रमदानमार्फत प्रदान गरेका छन्। अमहा गढियाको यो क्षेत्र विशेष रूपमा दलित समुदाय, विशेषगरी सदाय परिवारको बसोबास रहेको स्थान हो।
विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा उक्त बोर्डिङ जडान कार्यक्रम सुरु भएपछि अत्यन्तै हर्षित भएका छन्। उपभोक्ता समिति अध्यक्ष राम औतार सदाले स्थानीय समुदायको लामो समयदेखिको समस्या समाधान हुन लागेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरे। विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले गाउँपालिकाले खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर रूपमा काम गरिरहेको उल्लेख गर्दै स्थानीयवासीलाई थप सेवासुविधा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए।
खानेपानी बोर्डिङ जडानपछि स्थानीय बासिन्दाले शुद्ध र पर्याप्त पानी सहज रूपमा प्राप्त गर्ने भएकाले यो आयोजना क्षेत्रका जनताका लागि महत्वपूर्ण भएको गाउँपालिका अध्यक्ष यादवले बताए। सबल नेपाल परियोजना विष्णुपुरका संयोजक मनिक कुमार कामतले आयोजनाको सफल कार्यान्वयनपछि यस क्षेत्रको खानेपानी समस्या समाधान भई स्थानीयको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे। खानेपानीको सुनिश्चितता भएपछि यहाँका बालबालिका, महिला तथा वृद्धवृद्धाले सहज रूपमा दैनिक जीवनयापन गर्न सक्नेछन्। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले परियोजना सफलताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुशी व्यक्त गरेका थिए।
यस आयोजनाले अमहा गढियाका बासिन्दालाई लामो समयदेखि रहेको खानेपानीको समस्याबाट मुक्त गराउने विश्वास गरिएको छ। स्थानीय, सरकार र विभिन्न संस्थाबीचको सहकार्यका कारण सम्भव भएको यो परियोजना अन्य क्षेत्रका लागि पनि प्रेरणादायी बन्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved