गौर। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ । मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञ उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजक मौलापुर नगरपालिकाले मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गरी महायज्ञ बारे जानकारी गराएको हो । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने छ । फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसीलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् । त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । उनले पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन आफु निरन्तर प्रयत्नरत रहेको बताईन । सरकारले देशमा थप नयाँ सय पर्यटकीय गन्तव्यमा उक्त मन्दिर छनोट गरेको छ । २०७६ साल देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ । २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, २०७८ सालमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा मधानी महायज्ञ आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Pradeshtimesdainik.com - All rights reserved