सिरहा, ५ मंसिर। प्रतिस्पर्धा, राजनीतिक ध्रुवीकरण र व्यवसायीहरूको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न गोलबजार उद्योग व्यापार संघको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्ष पदमा महेश साह (कोक्वा) आफ्नो प्यानलसहित विजयी हुँदै संघको नेतृत्वमा स्थापित भएका छन्। उनले प्रतिस्पर्धी राजु गुप्तालाई २५० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित साहले ७९४ मत प्राप्त गर्दा गुप्ताले ५४४ मतमा चित्त बुझाउनुपर्यो। यो परिणाम केवल एउटा पदको जित–हार मात्र नभई व्यवसायीहरूको विश्वास र नेतृत्वप्रतिको अपेक्षाको अभिव्यक्तिका रूपमा समेत हेरिएको छ। साह प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रमोद यादव ७६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी आनन्दकुमार यादवले ६०६ मत प्राप्त गरे। उपाध्यक्ष पदमा भने निकै रोचक प्रतिस्पर्धा देखियो। मोहम्मद सदाब खानले ६८८ मत प्राप्त गरी ओमप्रकाश साहलाई जम्मा पाँच मतले पछि पार्दै विजय हासिल गरे। ओमप्रकाशले ६८३ मत प्राप्त गरे। त्यसैगरी, महासचिव पदमा अरविन्दकुमार सिंह ७५६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी वीरेन्द्र सिंह (बैजु)ले ६२५ मत प्राप्त गरे। कोषाध्यक्षमा कपिलदेव साहले ७७२ मत ल्याएर सफलता हासिल गर्दा प्रकाश साह ५८९ मतमा सीमित भए। सदस्य पदमा अमरकुमार मण्डल, सञ्जय साह, वीरेन्द्रकुमार साह, मोहम्मद सहबाजुद्दीन, नागेश्वर राय, सरोजकुमार साह, मुन्द्रिका कुमारी झा र पिंकी कुमारी मुखिया निर्वाचित भएका छन्। यस निर्वाचनलाई व्यावसायिक नेतृत्व चयनसँगै राजनीतिक समर्थन र शक्ति सन्तुलनको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको थियो। महेश साहको प्यानललाई नेकपा, नेकपा एमाले र नेपाली कांग्रेसको एउटा पक्षसहित विभिन्न राजनीतिक शक्तिको समर्थन रहेको थियो। अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित उम्मेदवारका रूपमा रहेका राजु गुप्तालाई नेपाली कांग्रेसकै अर्को समूहको साथ थियो। शुक्रबार सम्पन्न निर्वाचनमा कुल १ हजार ६०३ मतदाता रहेकामा १ हजार ४१६ मत खसेको थियो। तीमध्ये ८ मत पूर्ण रूपमा बदर भएको निर्वाचन परिणाममा उल्लेख छ। यसअनुसार करिब ८८.३३ प्रतिशत मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। निर्वाचनले गोलबजारका उद्योगी तथा व्यापारीहरूबीच नेतृत्व चयनको उत्साहसँगै व्यावसायिक एकता, बजार व्यवस्थापन र संघको प्रभावकारिताप्रति नयाँ अपेक्षा पनि जगाएको छ। अब नवनिर्वाचित नेतृत्वसामु निर्वाचनका क्रममा प्राप्त समर्थनलाई व्यवहारमा रूपान्तरण गर्दै व्यापारीका साझा समस्या समाधान गर्ने र संघलाई अझ सशक्त बनाउने चुनौती रहनेछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved